सोमबार, माघ १९, २०८२

नक्कली भुटानी शरणाथी प्रकरण

अनुसन्धानका क्रममा सोधिएका ४५ प्रश्नको इन्कार गरे सचिव पाण्डेले

मेरोन्यूज २०८० वैशाख २८ गते १०:२८

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेले सरकारी वकिलले सोधेका सबै प्रश्नको इन्कारी बयान दिएका छन् ।

गृहसचिव भएको बेलामा नक्ली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग मिलेर अनुचित लाभ लिएको प्रमाणका आधारमा पक्राउ परेका पाण्डेले सरकारी वकिल कार्यालयमा सोधिएका ४५ प्रश्नको इन्कारी बयान दिएका हुन् ।

सहकारी वकिल कार्यालय काठमाडौ स्रोतले दिएको जानकारी अनुसार उनीसँग लिइएको बयानका क्रममा सोधिएका ४५ प्रश्नमै ‘होइन’ भन्ने जवाफप दिएका छन् ।

‘मैले नक्कली मानिसलाई भुटानी शरणार्थी बनाएर पठाउन कुनै पनि काम गरेको छैन । अनि मलाई यस प्रकरणमा यो गरिस्, उ गरिस भनेर किन प्रश्न सोध्नुहुन्छ ?,’ भन्दै उनले बयान दिएको उनको बयान लिन बसेका एक सरकारी वकिलले बताए ।

नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक अमेरिका पठाउने गिरोह (जो अहिले प्रहरी हिरासतमा छन्)संग फेला परेका डायरीहरूमा पाण्डेको नामसहित लेनदेन गरिएको संकेत फेला परेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डेले इन्कारी बयान दिए पनि आफूहरूले प्राप्त गरेका प्रमाण उनी यो प्रकरणमा मुछिएका छन् भन्ने निष्कर्ष निकाल्न प्रयाप्त रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

२३ करोड रुपैयाँजति बिगो राखिएको मुद्दामा उनको उत्तरदायित्व कति हुन्छ भन्ने विषयमा पनि अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।

त्यसबाहेक सचिव पाण्डेको मोबाइलबाट बिचौलियासँग ह्वाट्सअपबाट च्याट भएको तथा मोबाइलबाट एसएमएससमेत आफूहरूले रिकभर गरेको प्रहरीले बताएको छ ।

गृहसचिव भएको बेला नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहजीकरण गरिदिएको तथा त्यसबापत बिचौलियाहरूबाट रकम लिएको अभियोगमा पाण्डे पक्राउ गरिएको हो । पाण्डे बालकृष्ण खाँण गृहमन्त्री हुँदा सचिवको रूपमा गृह मन्त्रालयमा आएका थिए ।

प्रतिक्रिया