मंगलबार, वैशाख ८, २०८३

संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग

मेरोन्यूज २०८२ माघ १७ गते १८:३६

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका छन् । 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

एमाले ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने भन्दै संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न माग गरेका हुन् ।

आफूहरूले संसद् विघटन गरेर संविधान मिचिएको भनिरहेको अवस्थामा सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न नमिल्ने उनले बताए । संसद् पुनर्स्थापनाको मुद्दाबारे अदालतले जस्तो आदेश गरे पनि त्यसलाई स्वीकार गरिने उनले स्पष्ट पारे । 

त्यस्तै अध्यक्ष ओलीले सरकार तटस्थ रहेर भयरहित वातावरणमा, शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । कसैलाई जिताउने वा हराउने खेलमा सरकार लागे त्यस्तो निर्वाचन र परिणाम स्वीकार्य नहुने उनको भनाइ थियो । 

सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने उनले चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिए पनि हिमाली भेगमा निर्वाचन गराउन कठिन रहेको उनले बताए । फरक प्रसंगमा अध्यक्ष ओलीले झापा–५ मा आफुसंग प्रतिष्पर्धा गर्ने भनेर लागेकाहरुसंग कुनै सङ्गठन, नीति कार्यक्रम, उद्देश्य केही नभएको तर्क गरे । 

बालेन लक्षित ओलीको टिप्पणी– ‘बतासे अण्डा’

ओलीले चुनावमा झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न’ पुगेको टिप्पणी गरे ।

बालेनको नाम नलिई उनले थपे, ‘मैले धेरै केही भन्नु पर्दैन । अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको अण्डा । बतासे अण्डाबाट चल्ला निस्किँदैन ।’

ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताउँदै आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याए । उनले आगामी निर्वाचनमा देश हार्न नहुने बताए । देश बनाउने शक्ति एमाले मात्रै रहेको र यसपटकको निर्वाचनमा जनताले आफूहरूलाई सफल बनाउने पनि उनले जिकिर गरे ।

प्रतिक्रिया