नक्कली भुटानी शरणार्थी प्रकरण
दुई पूर्वमन्त्री र एक बहालवाला सचिवसहित १३ जना पक्राउ, ३ जनाविरुद्ध पक्राउ पूर्जी (नामावलीसहित)

काठमाडौँ । आइतबार साँझ बुढानीलकण्ठबाट एमाले सचिव, प्रतिनिधि सभा सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेपछि पक्राउ पर्नेको संख्या १३ पुगेको छ । पक्राउ पर्नेमा उनीसहित २ पूर्वमन्त्री र एक बहालवाला सचिवसहित १३ जना छन् ।
प्रकरणमा रायमाझी र अर्का पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । भने पूर्वगृहसचिव तथा पक्राउ पर्दा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पक्राउ परेका हुन् । पाण्डे खाण गृहमन्त्री हुँदा गृहसचिव थिए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान थाल्दा १२ चैतमा गिरोहका नाइके ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र मोरङको पत्थरी शनिश्चरेका सागर राईलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनीहरूको बयानका आधारमा अन्य व्यक्तिहरू पक्राउ गर्ने क्रम सुरु भएको हो ।
गिरोहका अर्का सदस्य दाङका ३४ वर्षीय सन्देश शर्मालाई २९ चैतमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको बानेश्वरबाट पक्राउ गरेको थियो ।
त्यसपछि भने प्रहरीको अनुसन्धान राजनीतिज्ञ र सरकारी कर्मचारीतर्फ सोझिएको थियो ।
यसक्रममा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई १९ बैशाखमा पक्राउ ग¥यो । राईलाई टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको थियो ।
२० बैशाखमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । उनी पूर्वगृहसचिव हुन् ।
२० बैशाखमै बुटवलबाट पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा नविनलाई प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप दुई विचौलिया रामशरण केसी र गोविन्द चौधरीलाई २६ बैशाखमा पक्राउ गरेको थियो ।
त्यसको अर्कोदिन २७ बैशाखमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनी गृहमन्त्री हुँदाका नीजिसचिव नरेन्द्र केसीलाई चावहिल मैजुबहालस्थित उनकै निवासबाट पक्राउ ग¥यो ।
अहिलेसम्म यो प्रकरणमा प्रहरीले ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । प्रहरीले इन्द्रजीत राईका छोरा निरज तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक र नेपाली कांग्रेसका नेता पूर्वसांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी भएको अपराध अनुसन्धान महाशाखालले जानकारी दिएको छ ।
प्रतिक्रिया