डोल्पामा यार्सागुम्बा संकलन खुला

जाजरकोट । डोल्पाका पाटनमा पाइने यार्सागुम्बा सबैका लागि खुला गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका साथै सामुदायिक वन समूहले यार्सागुम्बा खुला गरेका हुन् ।
तीन दर्जन पाटनमा यहाँ यार्सागुम्बा पाइने गर्दछ । यार्सागुम्बा सङ्कलन गर्न जुम्ला, जाजरकोट, रुकुमपश्चिम र मुगुका सर्वसाधारणहरू आउने गर्छन् । यार्सा सङ्कलन गर्न पाटनमा प्रवेश गरेबापत निश्चित शुल्कसमेत तोकिएको छ ।
जेठ १ गतेदेखि सुरु भएर असार १ गतेसम्म मात्र पाटनमा यार्सागुम्बा सङ्कलन गर्न दिने निकुञ्जले जनाएको छ । यार्सागुम्बा सङ्कलनकर्तालाई पाटन क्षेत्रमा प्रवेश गर्दा फोहोर नगर्नसमेत निर्देशन दिइएको छ ।
डोल्पा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लामा अवस्थित सुरक्षा निकायका प्रमुख, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका पदाधिकारी, डिभिजन वन कार्यालयको सहभागिता भएको बैठकले प्रवेश शुल्क निर्धारण गरेको हो ।
कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा खुलारूपमा संकलन गर्न नपाएको भन्दै यसपटक विभिन्न तयारीका साथ एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्लाबाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क तोकिएको छ ।
यार्सा पाटनमा यार्सा सङ्कलन गर्न जाँदा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका बासिन्दाले रु पाँच सय, निकुञ्ज जिल्लाभित्रका बासिन्दाले रु दुई हजार र जिल्लाबाहिरबाट यार्सा संकलन गर्न आउनेले तीन हजारका दरले प्रवेश शुल्कबापत तिर्नुपर्नेछ ।
यार्सागुम्बा संकलनकर्ताका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगार्ड डोल्पाले जनाएको छ ।
यस्तै, डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिनेछ । डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेका दुई दर्जनभन्दा बढी यार्सागुम्बा पाटनमा सर्वसाधारणको भीड हुने र आपराधिक गतिविधि हुनसक्ने भएकाले त्यस्ता किसिमका क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्न श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा सुरक्षा परिचालन गरिनेछ ।
यार्सा संकलनको अवधिमा यार्सा सङ्कलनबाहेक अन्य गैरकानूनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियामावली, २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ ।
यस्तै, यार्सागुम्बा सङ्कलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविर, पाटनमा हुने फोहोरमैला व्यवस्थापनका लागि यार्सागुम्बा सङ्कलनकर्तालाई नाकामा अभिमुखीकरण गरिने जनाइएको छ ।
















Surveillance increased against Nipah virus at western border
किएभमाथि पुनः रुसी आक्रमण
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया