सोमबार, मंसिर १५, २०८२

चेन्नई पाँचौँपल्ट आईपीएल च्याम्पियन

मेरोन्यूज २०८० जेठ १६ गते ६:२३

काठमाडौँ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । महेन्द्रसिंह धोनीको टिम चेन्नईले सोमबार गुजरातको अहमदाबादमा आयोजित आईपीएल–२०२३ को फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै पाँचौँपल्ट च्याम्पियन बनेको हो ।

यसअघि चेन्नई २०१०, २०११, २०१८ र २०२१ मा च्याम्पियन बनेको थियो ।

चेन्नईले फाइनलमा टाइटन्सलाई ५ विकेटले हरायो । गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई २१५ रनको विजयी लक्ष्य दिएको थियो । तर पहिलो ओभरको तीन बलमै वर्षाले खेल रोकिएपछि ओभर घटाइएको थियो । डक वर्थ लुइस नियमअनुसार ओभर घटाउँदै चेन्नईलाई १५ ओभरमा १७१ रनको लक्ष्य दिइएकोमा चेन्नईले त्यो लक्ष अन्तिम बलमा भेटायो ।

चेन्नईका लागि डेभोन कनवेले ४७, शिवम दुवेले ३२, रन बनाए । रवीन्द्र जडेजाले १५, रुतुराज गायकवाडले २६ रन बनाए ।

गुजरातका लागि मोहित शर्माले ३ र नूर अहमदले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ९६, रिद्धिमान साहले ५४, कप्तान हार्दिक पाण्ड्याले २१ र शुभमन गिलले ३९ रन बनाए । उनले साहसँग पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरे ।

चेन्नईका लागि मथीसा पथिरानाले २ तथा दीपक चहर र रवीन्द्र जडेजाले १,१ विकेट लिए ।

प्रतिक्रिया