गगन थापाले भने : देउवाले रेशमलाई आममाफीदेखि सांसद विकास कोषसम्मको निर्णय एकलौटी गरे
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
उनले पार्टी सभापति देउवाको एकलौटीमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायत काम गरेको आरोप लगाए ।
प्रेस युनियन नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू आफूले सहन नसक्ने बताए ।
‘केही दिनबीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भिर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरू गर्यो, एउटा निर्णय आममाफीको विषयमा, एउटा निर्णय नागरिकताको विषयमा, एउटा निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता,’ महामन्त्री थापाले भने, ‘प्रदेश सरकारमा सहभागिताका लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा, एउटा निर्णय सरकारले भर्खर सांसद विकास कोषको सन्दर्भमा, यस्ता कैयन विषयहरू छन् ।’
महामन्त्री थापाले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर रोक्नु पर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान गरे । उनले पार्टी सभापति देउवाका एकल निर्णयहरू आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती गर्ने पक्षमा नरहेको बताए ।
महामन्त्री थापाले पार्टीलाई ‘दाइ’हरूको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरूको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा समेत गरे ।
प्रतिक्रिया