बिहीबार, चैत १९, २०८२

दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया बढाउन अर्थमन्त्रीको आग्रह

मेरोन्यूज २०८० जेठ २५ गते १९:२९

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रियाअगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको थियो । सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा पनि लगानी प्रक्रियाअगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका हुन् ।

उनले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजना आवश्यक रहेको उल्लेख गरे । उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै जलविद्युतको ठूलो सम्भावना रहेको बताए ।

‘अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको छ, त्यसैले हामीलाई धेरै जलाशय युक्त योजना आवश्यक छ, प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादिन १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ,’ उनले भने, ‘हामी आन्तरिक बजार बढाउँदै पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेका छौँ, त्यसैले नेपालमा जलविद्युतको ठूलो सम्भावना छ ।’

उनले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताउँदै थपे, ‘हामीले अरूण तेश्रोमा नै विश्व बैंकले लगानी चाहेका थियौँ, विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेश्रोमा लगानी हुन सकेन, अहिले माथिल्लो अरूणमा लगानीको विषयमा छलफल हुँदा निकै खुशी लागेको छ ।’

१०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विश्व बैंक, एशियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्डलगायतका दातृ निकायका प्रतिनिधिसँग छलफल भएको थियो ।

प्रतिक्रिया