इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।
मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए ।
बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए ।
कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनःनिर्माण ढिला गरी सम्पन्न भएको हो । मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो । ढुङ्गा र माटोले बनेको सो पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो ।
गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताए । ‘आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचार–प्रसारमा जोड दिइने छ,’ उनले भने, ‘खानेपानीको व्यवस्थासमेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ । आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौँ । ऐतिहासिक महत्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ ।’
सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ । साथै मन्दिर परिसर वरपर फागुन–चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ । इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ ।
गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे धार्मिक विश्वास रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताए ।
मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको उनले बताए । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । (रासस)
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया