मंगलबार, माघ २०, २०८२

महानगरले सुरु गर्‍यो बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाउन

मेरोन्यूज २०८० असार १ गते ९:०७

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ ।

बिहान बालाजु बसपार्क क्षेत्र वरपरबाट टिकट काउन्टर हटाउन सुरु गरेको हो । महानगरभित्रका सबै टिकट काउन्टर हटाइने महानगरले जनाएको छ ।

टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको महानगरले जनाएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाइरहेका छन् ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने भन्दै त्यसभन्दा बाहिर राखिएका सबै टिकट काउन्टर हटाउन निर्देशन दिएको थियो ।

कलंकी, गौशाला, कोटेश्वर, बालाजु, सुन्धारा लगायतका क्षेत्रमा काउन्टरहरु राखेर सार्वजनिक गाडीका टिकट बिक्री हुँदै आएका छन् ।

जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा पनि कठिनाइ भएको महानगरको भनाइ थियो ।

जथाभावी राखिएका टिकट काउन्टरबाट यात्रुहरु ठगिएको गुनासो आएपछि महानगरले काउन्टर हटाउने निर्णय लिँदै हटाउन सूचना जारी गर्दै आजसम्मको समय दिएको थियो ।

प्रतिक्रिया