मंगलबार, माघ २०, २०८२

मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात

मेरोन्यूज २०८२ माघ २० गते १९:०७

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो ।

मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए । मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।

यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते सुरु भएको थियो । योसँगै जारी सिजनमा चौथो पटक हिमपात भएको समितिका सहव्यवस्थापक काफ्ले उल्लेख गरे । यसअघि गएको मङ्गलबार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । गएको मङ्गलबार राति मुस्ताङको उच्चलेकमा पनि आंशिक हिमपात भएको थियो ।

यहाँको मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै त्यस आसपासका डाँडाकाँढा र रानीपौवा बजार पूरै हिमपातले सेताम्मे भइसकेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिनुभयो । केही घण्टा अगाडिदेखि निरन्तर हिउँ परिरहेको र रातभरि परेमा मुक्तिनाथ क्षेत्रका सबै बस्ती हिउँले ढाकिने पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ ।

मुक्तिनाथमा चौथौँ पटक हिमपात भएसँगै मुक्तिनाथ मन्दिर हिउँले ढाँकिएको छ । मन्दिर परिसर, कुण्ड, १०८ धारा र अन्यस्थानमा हिउँ थुप्रिन थालेको छ । मुक्तिनाथमा रातभर हिउँ परेमा दुई फिट बढी हिउँ पर्ने अनुमान छ । मुक्तिनाथमा हिउँ पर्न थालेपछि मुक्तिनाथ पुगेका दर्शनार्थीहरू हिउँले समस्या पार्ने देखिएपछि हतारहतार जोमसोम झर्न थालेका छन् ।

यसैगरी मुस्ताङको कागबेनीदेखि तलको घरपझोङ र थासाङ गाउँपालिकामा पनि उच्च लेकसहित वस्तीमै आंशिक हिउँ परिरहेको शितोष्ण बागवानी विकास केन्द्रका कर्मचारी अशोक लिम्बूले जानकारी दिए । कर्मचारी लिम्बूले विगत तीन वर्षदेखि तल्लो मुस्ताङमा बस्तीमा हिमपात नभएको उल्लेख गर्दे यसपटक बस्तीमै बाक्लो हिउँ पर्ने छनक देखिएको बताए ।

यसैगरी माथिल्लो मुस्ताङमा उच्च लेकमा आशिक हिमपात भइरहे पनि बस्तीमा हिउँ नपरेको एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले बताए । उच्च लेकमा छिटफूट हिउँ परे पनि बस्तीमा बजोडको हावाहुरी चलिरहेको बताए ।

यसअघि गएको मङ्गलबार राति भारी हिमपात हुँदा कागबेनी मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुन पुगेको थियो । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको डोजरले मुक्तिनाथ र कोरला सडकको हिउँ पन्छ्याएर अवरुद्ध सडक सुचारु गरिएको भए पनि फेरि पुनः हिमपातले मुक्तिनाथ र कोरला सडक अवरुद्ध हुनसक्ने देखिएको छ ।

प्रतिक्रिया