ब्याडमै सुक्न थाल्यो धानको बीउ

पाल्पा । खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् ।
असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष हिले ब्याड राख्ने गरेकोमा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पाल्पाको रामपुरका किसान डोलराज तिवारी बताउँछन् ।
‘समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बीउ राखियो, सिँचाइ दिन सकिएको छैन, दिनभर चर्को घामबाट जोगाउन स्याउला तथा बोराले माथिबाट ढाकेर राखिएको छ,’ उनले भने । तिवारीका अनुसार कुलोको पानी पालो अनुसार सिँचाई दिन रातदिन धाउनुपरेको छ । प्रयाप्त सिँचाइ दिन नपाउँदा ब्याडमा उम्रदै गरेको बीउ सुक्ने अवस्थामा छन् ।
रातभर खेतमा पानीको पालो कुलेर बस्दासमेत दुई दिनमा एक पटक सिँचाइ दिन सकस भएको बताउँछिन्, शोभा आले ।
‘पानीको पालोअनुसार ब्याड सिँचाइ गर्न दिनरात नभनिकन खेतमा धाउनुपरेको छ,’ उनले भनिन्, ‘दुई दिन बित्दासमेत पालो आउन मुस्किल पर्छ, खेतमा बीउ सुक्न लागिसक्यो, आकाशे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नु परेको छ ।’
घरधन्दा, छोराछोरीको रेखदेखका बाबजुद रातभर खेतमा पानी पालो पर्खेर बस्न पर्दा महिलालाई धेरै अप्ठ्यारो हुने गरेको मन्जु पङ्गेनीले बताइन् । रातको समयमा डर त्रासका बाबजुद कुलोको मुहानमा पुगेर पानी ल्याएर सिँचाइ गर्न महिलालाई सकस परेको आलेको भनाइ छ ।
हिले ब्याड बनाएर बीउ राख्ने यहाँका किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन् । असार लागिसक्दा पनि कतिपय ठाउँमा बीउ अझै राख्न पाइएको छैन । यस वर्ष मनसुन ढिला सुरु हुँदा धानको बीउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए ।
उनी भन्छन्, ‘पानी नपरेपछि कुलो, नहरमा पानीको बहाव घटेको छ, पानीका मुहान, कुँवा सुक्दै गएका छन्, पर्याप्त सिँचाइ भएका मूल, कुँवाको मुहान नजिक भएका खेतमा हिलो गरेर बीउ राखिएको छ भने सिँचाइ कम सुविधा भएका ठाउँमा धुले ब्याड तयार भएका छन् ।’
पाण्डेयका अनुसार यस क्षेत्रका आकाशे पानीको भरमा मात्र खेती लगाइने जग्गामा बीउ राख्न अझै बाँकी नै छ । कुलो, नहरमा ल्याइएका पानी खेतको मुहानमा पुग्न धौँ धौँ अवस्था छ । बिहानैदेखि रात नपरुञ्जेलसम्म चर्को घाम लागेकाले कुलो तथा नहरमा ल्याइएको पानी खेतसम्म पु¥याउन कठिनाइ छ ।
ब्याडमा बीउ सुक्ने अवस्था हुन थालेपछि किसानले बोरा, स्याउलाले दिनभर छोपेर राख्ने गरेका छन् । महँगो मूल्यमा बजारका एग्रोभेटमा बीउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाइकन बीउ बिग्रने चिन्तामा छन् । वर्षदिन खाने खेती समयमा नै बीउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन् ।
खेती लगाउने समयमा हरेक वर्ष किसानलाई केही न केही समस्या निम्तिएको हुन्छ । कहिले रासायनिक मलको अभाव त कहिले धानको बीउ अभाव, समयमा वर्षा नपर्नुजस्ता समस्याले किसानलाई सताइरहेको हुन्छ । दिगो र भरपर्दो सिँचाइको व्यवस्थापन हुन नसक्दा बीउ राख्न तथा बालीनाली लगाउन समस्या भइरहेको छ । (रासस)
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया