शनिबार, फागुन २३, २०८२

नवौँ चुरे संरक्षण दिवस मनाइँदै

मेरोन्यूज २०८० असार २ गते ९:२९

काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ। समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र संवर्द्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो। समितिका अध्यक्ष किरण पौडेलले स्थापनाको दिवसका अवसरमा ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ भन्ने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गरेका छन्।

उनले चुरे संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा सहयोग पुर्‍याउने वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्तालगायत स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिएका छन्।

नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ।

चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग हो। बलौटे ढुङ्गा एवं माटो ढुङ्गा सङ्गुरीकाले बनेका कारण चुरे भूभाग निकै कमजोर छ।

अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ।

यस्तै गतिविधिका कारण तराई मधेस मरुभूमिकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे–तराई मधेस क्षेत्रका ३७ जिल्लाका तीन सय २५ स्थानीय तहका करिब ५८ प्रतिशत मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रका एक सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी नेपाल सरकारले समितिको गठन गरेको थियो।

चुरे क्षेत्र भौगोलिक हिसाबले कमलो र कान्छो भए तापनि जैविक र सांस्कृतिक सम्पदामा धेरै धनी छ। चुरे क्षेत्र बाघ, भालु, गैँडा, हात्ती, अर्ना र अन्य वन्यजन्तुको वासस्थान रहनुका साथै विविध किसिमका जडीबुटीजन्य वनस्पतिको खानी पनि हो। तराई र मधेस क्षेत्रमा सिँचाइको लागि आवश्यक पर्ने पानीको प्रमुख स्रोत भनेको चुरे र मध्य पहाडी शृङ्खलाबाट बग्ने नदी प्रणाली र यिनले पुनर्भरण गरेका भूमिगत जलस्रोत हो।

तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउने हो भने चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररूपमा बाँच्न दिनुपर्ने हुन्छ। अध्यक्ष पौडेलले ‘प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ’ भन्ने तथ्यलाई कसैले पनि बिर्सनु नहुने बताए।

चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ र भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढ्दो छ। ुबढ्दो भौतिक विकासले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई आज कसरी पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ,ु अध्यक्ष पौडलले भने।

चुरे क्षेत्रमा भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन तथा उत्खनन गर्न उनले आग्रह गरे।

प्रतिक्रिया