शनिबार, फागुन २३, २०८२

बाँकेका सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण

मेरोन्यूज २०८० असार ६ गते १३:५६

बाँके । बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले उनले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिए । “केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा भ्याक्सिन आएको छैन”, उनले भने।

घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा ओलीले भाइरसबाट सर्ने रोग भएकाले यसको दिगो उपचार नभएको बताए । नेपालगञ्ज उपमहानगरपालिकासहित सबै स्थानीय तहमा उक्त भाइरसको सङ्क्रमण देखिएको उनको भनाइ थियो । राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताए । सङक्रमणका कारण दूधको उत्पादन घटनु तथा पशु सङ्क्रमणबाट मुक्त भए पनि पहिलेकै अवस्थामा नर्फकनुले किसान मारमा परेको उनले बताए ।

सचिव डा न्यौपानेले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए । “यसको रोकथामका लागि मास भ्याक्सिनेसन सुरु गर्नुपर्छ र जैविक सुरक्षामा जोड दिनुपर्छ”, उनले भने ।

सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिक रुपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवजातवमा कडाइ गरेर लम्पी स्किनको सङ्क्रमण न्यूनीकरण हुन सक्ने डा न्यौपानेले सुझाव दिनुभयो । उहाँका अनुसार रोगी पशुलाई लामखुट्टे, झिँगा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन् ।

लुम्बिनी प्रदेशमा ७४ हजार दुई सय ८९ पशु लम्पी स्किन रोगबाट पशु सङ्क्रमित भएका छन् । अहिलेसम्म दुई हजार सात सय ८० पशुको मृत्यु भएको भने प्रदेशका पाँच हजार सात सय ५० पशुलाई भ्याक्सिनेसन गरिएको पशु अस्पताल बाँकेले जनाएको छ ।

प्रतिक्रिया