बुधबार, माघ २१, २०८२

मुद्दा फिर्ता लिने सरकारको निर्णय सर्वोच्चले रोकेपछि चलाउनेले स्थगित गरे अनसन

मेरोन्यूज २०८० असार ८ गते ११:०६

काठमाडौं । आफूलाई आत्र,कण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेपछि अनसनमा बसेका उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि अनसन स्थगित गर्ने भएका छन्।

बिहीबार सर्वोच्च अदालतले आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि चलाउनेले आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्न लागेका हुन् ।

सर्वोच्चले न्याय दिएकाले अनसन स्थगित गर्न लागेको चलाउनेले बताएका छन् ।

०७७ साल असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा चलाउनेमाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले कुटपिट गरेका थिए ।

नेपाल विद्यार्थी संघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रूपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझाले चलाउनेमाथि कुटपिट गरेको आरोप छ।

घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरूविरूद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने कसूरमा सजाय हुनुपर्ने दाबीसहितको मुद्दा दायर गरेको थियो।

तर, सरकारले गत जेठ ३० गते उनीहरूविरूद्धको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो। चलाउनेले आफूविरूद्ध आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। त्यसयता उनी त्रिवि परिसरमा अनसनरत छन्।

बिहीबार उनको रिटमा सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया