सोमबार, पुष ७, २०८२

जन्मेको १० वर्षपछि मोतियाबिन्दु भएको थाहा पाए, शल्यक्रियापछि फेरियो दैनिकी

मेरोन्यूज २०८० असार १२ गते १६:४६

काठमाडौँ । रतुवामाई नगरपालिका मोरङका १० वर्षीय सागर श्रेष्ठको जीवन र दैनिकीमा अहिले आकाश पातलका रुपमा फेरिएको छ ।

जन्मजात मोतियाबिन्दुको समस्या भएकाले टाढाको वस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै स्पष्ट देख्न थालेका छन् ।

मुनाल आदर्श विद्या सदनमा चौथो कक्षामा अध्ययनरत सागरको नेपाल नेत्रज्योति संघको पुर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिएको थियो । त्यसपछि उनको दैनिकी फेरिएको हो ।

सामान्य कृषि पेशा गर्दै आएका उनको परिवारलाई सागरको आँखामा समस्या देखिएपछि कसरी उपचार गर्ने भन्ने चिन्ताले सताएको थियो । तर, अस्पताल आएर सबै कुरा बताएपछि अस्पतालले उनको निःशुल्क शल्यक्रिया गरिदिएको हो ।

सिबिएमको आर्थिक सहयोगमा सञ्चालित सामुदायिक पहुँच र पुनर्वास कार्यक्रमअन्तर्गतको विद्यालयमा आँखा परीक्षण गर्दा सागरको दाहिने आँखामा मध्यम दृष्टि कमजोरी थियो ।

आँखा उपचार गर्ने स्वास्थ्यकर्मीले उनलाई रिपोर्ट दिँदै परिवारलाई नजिकैको आँखा अस्पतालमा लैजान परामर्श दिएका थिए । सागर घर पुगेपछि परिवारलाई रिपोर्ट दिए ।

‘रिपोर्ट हेरेपछि हामीले तुरुन्तै आँखा अस्पतालमा ल्यायौँ,’ सागरको आमाले भनिन्, ‘हामीजस्ता सामान्य परिवारलाई बिहान खाएपछि बेलुका के खाने भन्ने हुन्छ, अब छोराको अप्रेशन गर्नुपर्छ भनेपछि कसरी गर्ने भन्ने चिन्ता थियो, तर अस्पताल आएपछि यहाँ डाक्टरले सबै उपचार र शल्यक्रिया निःशुल्कमा हुन्छ भनेपछि भगवान नै पाए जस्तो भयो ।’

‘उसको आँखामा जन्मजात मोतियाबिन्दु भएकाले उसलाई आफ्नो आँखाले कतिसम्म प्रष्ट देख्छ ? कति टाढासम्मको कुरा पढ्न र देख्न सकिन्छ ? भन्ने कुरा थाहा थिएन जसका कारण उसलाई मेरा आँखामा समस्या छ वा कमजोर छ भन्ने कुरा थाहा हुने पनि कुरै भएन’ सागरको उपचारमा संलग्न नेत्र विशेषज्ञ डा. पवन श्रेष्ठले भने ।

अस्पतालको मेडिकल डाइरेक्टर डा. रक्षा पन्त सिटौलाले कुनै पनि नागरिकहरू उपचारबाट बञ्चित हुनु नपरोस भनेर अस्पतालले विभिन्न संघ संस्था र निकायसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको र अस्पताल आउने विरामी पनि आर्थिक अभावकै कारण उपचारबाट बञ्चित हुनु नपर्ने बताइन् ।

‘उसले हामीलाई वस्तु÷शब्दहरू हेर्न समस्या भएको कुरा कहिले भनेन्, समयमै बताएको भए चाँडै उपचार गर्न सकिन्थ्यो, कतै हिँड्दा, पढ्ने, लेख्दा कहिलेकाहीँ उनलाई कठिनाइ हुने गरेको हामीले पाएका थियौँ, तर यो समस्यामा हामीले खासै ध्यान दिएनौँ, हाम्रो गल्तीले यो अवस्था आयो,’ सागरकी आमाले थपिन् ।

शल्यक्रियापछि पट्टी खाल्दै गर्दा सागरले मुस्कुराउँदै भने, ‘म पहिलेभन्दा धेरै स्पष्ट देख्न सक्छु, अब म राति पनि पढ्न, लेख्न र हिँड्न सक्ने छु ।’

प्रतिक्रिया