बुधबार, चैत २५, २०८२

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

मेरोन्यूज २०८० असार २१ गते ७:०१

दाङ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे ।

आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए । सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । यही कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीबीच मंगलबार भएको वार्तापछि प्रदेशसभाको बुधबारको बैठक सञ्चालन भएको थियो ।

सरकारले चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजारको बजेट ल्याएको छ । वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ५८ करोड ९७ लाख छ । चालुतर्फ ३३ दशमलव ६८ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव ४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ आठ दशमलव ८७ प्रतिशत रहेको छ ।

आगामी आवमा आन्तरिक राजस्वबाट छ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ५० करोड ३० लाख हुने अनुमान गरिएको छ ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब १४ करोड ८३ लाख, ससर्त अनुदानबाट पाँच अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आवको नगद मौज्दातबाट तीन अर्ब र आन्तरिक ऋणबाट एक अर्ब २५ करोड परिचालन हुने अनुमान छ । चालु आव २०७९/८० मा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो ।

प्रतिक्रिया