बुधबार, माघ २१, २०८२

ललिता निवासको जग्गा प्रकरण

छुट्टाछुट्टै ४ अभियोगमा ४०६ जनाविरुद्ध पक्राउ पूर्जी

जग्गा हिनामिना, पशुपति टिकिन्छा गुठीको नाममा दर्ता, छुट जग्गा दर्ता र नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्नामा छुट्टाछुट्टै मुद्दामा पक्राउ पूर्जी

मेरोन्यूज २०८० असार २२ गते ९:५७

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी हुनेमा ५ पूर्वसचिव पनि छन् ।

जग्गा हिनामिना, पशुपति टिकिन्छा गुठीको नाममा दर्ता, छुट जग्गा दर्ता र नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्नामा छुट्टाछुट्टै इजलासबाट पक्राउ पूर्जी जारी भएको यस प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) जानकारी दिएको छ ।

सिआइबीले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल र नारायण गोपाल मलेगोसहित ४०६ जनाविरुद्ध छुट्टाछुट्टै अभियोगमा छुट्टाछुट्टै इजलासबाट पक्राउ पूर्जी लिइएको सिआइबीले जनाएको छ ।

सिआइबीमा यस प्रकरणको अनुसन्धान गरिरहेका एक अधिकृतका अनुसार ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दामा काठमाडौँको नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना प्रकरणमा ११० जनाविरुद्ध, छुट जग्गा दर्तामा १२ आना २ पैसा जग्गा हिनामिना भएको आरोपमा १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास परिसर विस्तारका लागि नक्कली मोहीलाई जग्गा सट्टापट्टा र शोधभर्ना दिएको सम्बन्धी २७ नम्बर मुद्दामा ७४ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ । यो मुद्दा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिनासँग सम्बन्धित भएको पनि प्रहरीले बताएको छ ।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी भन्दा बढी जग्गा हिनामिना भएको थियो । हिनामिनामा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालय, गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीहरु पनि मुछिएका छन् ।

यो प्रकरणमा सिआइबीले अहिलेसम्म निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम लगायतलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया