बिहीबार, वैशाख २४, २०८३

आज साउने संक्रान्ति मनाइँदै

मेरोन्यूज २०८० साउन १ गते ७:१९

काठमाडौं ।आज साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। ​ निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण मानिन्छ।

Advertisement
NiccNicc

साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्त्व रहेको छ। यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ।

गाउँघरमा साँझपख यो दिन लुतो फ्याँक्ने गरिन्छ। अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति बिहानै घरमा ल्याएर राख्ने र साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइने विश्वास छ।

कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ।

किरात समुदायमा एकाबिहानै वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने चलन छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै खराब तत्त्वलाई भगाउने चलन छ।

यता काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्त्व साथ मनाउँछ। साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ।

आर्थिक कारोवार गर्नेहरूले पनि यो दिनलाई विशेष मान्छन्। नेपालको आर्थिक वर्ष साउन १ गते सुरु हुन्छ।

कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्।

प्रतिक्रिया