बिहीबार, माघ २२, २०८२

सुन बरामदबारे बुझ्न गृहमन्त्री श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

मेरोन्यूज २०८० साउन ५ गते १२:०२

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन्। बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको १०० केजी सुन बरामद भएपछि त्यसबारे बुझ्न गृहमन्त्री विमानस्थलमा पुगेका हुन् ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर महानगरीय प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल छिरेका हुन्।

श्रेष्ठले विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्रको अनुगमन गरेका छन् ।

ठूलो टोलीसहित पुगेका गृहमन्त्री श्रेष्ठलाई भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका छन्। उनले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन्।

करिब एक अर्ब रुपैयाँको सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठले बिहीबार भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलसँग जानकारी लिएका थिए।

उनले विमानस्थल सुरक्षाको विषयलाई लिएर वर्तमान पूर्वप्रहरी अधिकारीहरुसँग पनि छलफल गरेका थिए।

अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेको छ।

प्रतिक्रिया