बिहीबार, वैशाख १७, २०८३

देशका विभिन्न स्थानमा डेंगु संक्रमितको संख्या बढ्दो

मेरोन्यूज २०८० साउन ५ गते १९:४९

काठमाडौँ । नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन्। पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ।

Advertisement
NiccNicc

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुसयता एक हजार १९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन्।

स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ।

बिरामी थपिँदै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ। महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्। 

हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ। यस्तै काठमाडौँमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगु संक्रमित फेला परेका छन्।

डेंगु संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया