बिहीबार, माघ २२, २०८२

सशस्त्र प्रहरीमा ११ एसएसपी, ४१ एसपी, २८ डिएसपी र ४७ निरीक्षकको दरबन्दी थप

मेरोन्यूज २०८० साउन ९ गते २१:३०

काठमाडौँ । सरकारले सशस्त्र प्रहरीमा निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्म १ सय २७ नयाँ दरबन्दी सिर्जना गरेको छ । जवानदेखि नायव निरीक्षक (सई) सम्मका केही पद मिलान गरेर अधिकृत स्तरका १ सय २७ दरबन्दी थपिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ५८ जना वरिष्ठ सईको नयाँ दरबन्दी थपेको छ । साउन ३ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकका ११ दरबन्दी सिर्जना गरेको हो । त्यसमा ३ वटा प्राविधिक र ८ वटा इन्फेन्ट्रीतर्फ रहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

यस्तै एसपीमा ४१, डीएसपीमा २८ र इन्स्पेक्टरमा ४७ नयाँ दरबन्दी थपिएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले संगठनको कुल दरबन्दीमा संख्या नबढ्ने गरी अधिकृत स्तरमा केही दरबन्दी थपिएको बताए ।

‘माथिल्लो तहमा सीमित पद हुँदा लामो समयदेखि अधिकृतहरु एउटै पदमा अस्वभाविक रुपमा लामो समयसम्म बस्नुपर्ने बाध्यता थियो । यसले जनशक्तिको मनोबल उकास्न समस्या पर्नेदेखि संगठनले पाएको जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्नमा पनि असर पुगेको थियो,’ प्रवक्ता खड्काले भने ।

नयाँँ दरबन्दी सिर्जनासँगै सहायक हवल्दारदेखि एसएसपीसम्म करिब ६ हजार जनशक्तिको बढुवा गर्ने बाटो खुलेको छ ।

महानिरीक्षक राजु अर्यालले इन्स्पेक्टरदेखि नायव महानिरीक्षक (डीआईजी) सम्म करिब ४ हजार ५ सय जनशक्तिको नयाँ दरबन्दी सिर्जना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका थिए । सीमा सुरक्षा, सशस्त्र प्रहरी अस्पताल र अन्य युनिटमा जनशक्ति अभाव रहेको भन्दै उक्त संख्या थप्न महानिरीक्षक अर्यालले गृहमा प्रस्ताव गरेका थिए ।

त्यसपछि गृहले सशस्त्रको प्रस्ताव रायका लागि अर्थमा पठाएकोमा तत्काल प्रस्ताव गरेअनुसार जनशक्ति थप्न नसकिने भन्दै बढुवामा देखिएको गाठो फुकाउन तल्लो दर्जामा संख्या मिलान गर्नेगरी केही अधिकृत स्तरका १ सय २७ र वरिष्ठ सईको ५८ पद संख्या बढाउन सैद्दान्तिक सहमति दिएको थियो । अर्थको सहमतिपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत साउन ३ मा ती पद संख्या बढाउन प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया