बिहीबार, माघ २२, २०८२

प्रहरीको ‘कस्टडी’ छल्न टिचिङको ‘भीआइपी’ क्याबिनमा भाटभटेनीका सञ्चालक गुरुङ

मेरोन्यूज २०८० साउन १२ गते १९:३२

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ विरामी भएको बाहानामा भिमुवन शिक्षण अस्पतालको ‘भीआइपी’ क्याबिनमा भर्ना भएर उपचार गराइरहेका छन् ।

एक महिनादेखि शिक्षण अस्पतालमा उपचार गराइरहेका गुरुङ अस्पतालको ‘भीआइपी क्याबिन’ (डिलक्स क्याबिन)मा रहेको निकटस्थ स्रोतले जानकारी दियो ।

६९ वर्षका गुरुङले आफू सुगर र प्रेसरको बिरामी भएको बताएपछि प्रहरीले उनलाई अस्पताल भर्ना गरेको हो । उनलाई अस्पतालमा भर्ना भने श्वासप्रश्वास विभागले लिएको अस्पतालको तथ्यांकमा देखिन्छ ।

भर्ना भएकै बेलामा गुरुङले बिहीबार मोतियाबिन्दुको अप्रेसनसमेत गराएका छन्।

प्रहरी हिरासत छल्न गुरुङले उपचारको बहाना बनाएका हुन् । शिक्षण अस्पतालमा विशेष व्यक्तिको उपचारका लागि दुईटा क्याबिनको व्यवस्था गरिएको छ। राजाको समयमा दरबारका लागि व्यवस्था गरिएका ती डिलक्स क्याबिन गणतन्त्रपछि भने पैसा तिर्नसक्ने जोसुकै बिरामीले पाउने गरेका छन्।

असार १२ गते पक्राउ परेका गुरुङ त्यही दिन उपचारका लागि अस्पताल पुर्‍याइएका थिए।

गुरुङमाथि बालुवाटारस्थित ललिता निवासभित्र रहेका जग्गा ८ जनालाई बिक्री गरेको अभियोग छ। जग्गा खरिद गरेका व्यक्तिहरु अभिताम्भ तुलाधर, नुतन श्रेष्ठ, डिम्पल वंशल, सरिता मानन्धर, नीतु गुरुङ, प्रविण ताम्राकार, भारती पाण्डे र अच्युतराज श्रेष्ठले गुरुङबाट बालुवाटारमा जग्गा किनेको बयान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएका छन्।

अख्तियारलाई दिएको बयानमा गुरुङले भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा बालुवाटारमा ४ र ५ कित्ता जग्गाहरु विभिन्न व्यक्तिबाट खरिद गरेको बताएका छन्।

प्रतिक्रिया