बिहीबार, माघ २२, २०८२

कैलालीमा अंशको जग्गालाई लिएर आफन्तको हत्या, ४ जना पक्राउ

मेरोन्यूज २०८० साउन १५ गते ९:३३

धनगढी । कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका-४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको हाे।

पक्राउ पर्नेमा लम्कीचुहा–४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी वर्षा रावल, २४ वर्षीय भरत रावल र अछामको पञ्चदेवल विनायक नगरपालिका– ६ तोली बस्ने ३७ वर्षीया सरिता रावल छन्।

प्रहरीका अनुसार मृतक मञ्चु र गोमा नातेदार हुन् । उनीहरूबीच जग्गासम्बन्धी अंश विवाद रहेका कारण योजनाबद्ध रुपमा हत्या भएको खुलेको छ ।

मञ्जुका छोरा विवेकले गत जेठ २५ गतेदेखि आफ्नी आमा सम्पर्कविहीन रहेको भन्दै असार १ गते इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएका थिए । उनले वकिललाई भेट्न मसुरीया जान्छु भनेर घरबाट निस्किएकी आमा मञ्जुको सोही दिनदेखि मोबाइल समेत स्वीच अफ भएको र सम्पर्कमा नरहेको उजुरीमा बताएका थिए ।

गोमाले दिएको बयानका आधारमा प्रहरीले वर्षा, भरत र सरितालाई पक्राउ गरेकाे थियो। सरिताले मञ्जुको हत्या गरी मोहन्याल गाउँपालिका-५ को बाँसघारीमा ढुङ्गाले च्यापेर शव गाडेको बयान दिएकी थिइन्।

साेही बयानअनुसार खोजी गर्दा उनले भनकै स्थान बाँसघारी सामुदायिक वनको सेतीखोर खोलामा मञ्जुको शव फेला परेको थियो।

प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएकाे छ ।

प्रतिक्रिया