बिहीबार, फागुन ७, २०८२

ओलीको कांग्रेसलाई प्रश्न- कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ?

चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस्

मेरोन्यूज २०८० साउन २७ गते १८:५३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफुले टिप्प्णी नगर्ने बताएका छन् । संसदमा ठूलो दल भएपनि कांग्रेस अहिले पुच्छरको रुपमा मात्रै हिडिरहेको ओलीको आरोप थियो ।

Advertisement
nepal life insurencenepal life insurence

‘नेपाली कांग्रेसका साथीहरूलाई म प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ?’ ओलीले गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘पछाडि पुच्छर चुप लागेर बसेको छ। अगाडि नेपाली कांग्रेस डोलायमान छ। त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ। त्यो उहाँहरूको मामिला हो। मेरो यसमा कुनै कमेन्ट छैन।’

सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको ओलीको टिप्पणी थियो ।

‘देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा। अब यसको त मैले टिप्पणी गरिरहनु भएन। उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो । के को पछि लाग्नुभएको होरु त्यो उहाँहरुले जान्ने कुरा हो। म केही पनि भन्दिन। मेरो कुनै कमेन्ट छैन।’ ओलीले भने, ‘तपाईंहरुलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस्। मेरो शुभकामना छ। तपाईंहरूलाई मन लागुन्जेल। लागेन भने बेग्लै कुरा हो ।’

संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो।

अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिए। ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप भएको र त्यस्तै देखिएको बताए ।

ओलीले भने- मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति । यसको अन्त्इ यहाँ हुँदैन । तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?’

उनले सरकारले अधिनायक भएर चल्न नहुने बताए ।

अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीति प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए । उनले यो शुरुआतमात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दावी गरे ।

ओलीले भने-‘ सुनिल शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो । यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो ।’

स्कुल पढ्दा साथीको चिट चोरेको, प्रमाणपत्र केरमेट भएको जस्ता कुरा समेत उठाएर विरोधीलाई ठेगान लगाउने खेल शुरु भएको उनले बताए ।

प्रतिक्रिया