शुक्रबार, माघ २३, २०८२

सुन प्रकरणका कुनै सूचना र प्रमाण भए उपलब्ध गराउनू : सीआईबी

मेरोन्यूज २०८० भदौ ९ गते ७:३२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले त्यस्ता सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्षरुपमा आई उपलब्ध गराउन वा इमेलमार्फत पनि पठाउन सकिने बताए। सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्ने पनि उनले बताए।

यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि उनको भनाइ छ। उनका अनुसार सुनका विषयमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्यूरोको इमेल ठेगाना ९८५१२९१३११ मा पठाउन वा सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा जानकारी दिन सकिने उल्लेख गरिएको छ।

विभिन्न गिरोहले अवैधरुपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिन यता विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएका समाचारका सम्बन्धमा ध्यानाकर्षण भएको पनि ब्युरोले जनाएको छ ।

एक महिना अघि भन्सार छली ल्याइएको सुनको सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाइएको छ। यसभन्दा अगाडिका विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट सूक्ष्मरुपमा अनुसन्धान भइरहेको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ।

६० किलो सुन तस्करी प्रकरणमा केही दिन अघि मात्रै ब्यूरोले आफ्नो अनुसनधान सकेर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। उक्त प्रकरणमा भोलि अदालतमा मुद्दा लैजाने तयारी छ। उक्त प्रकरणमा १८ जना हिरासतमा छन्।

प्रतिक्रिया