सोमबार, फागुन ४, २०८२

राप्रपाले संसदीय समिति सभापतिमा खोज्यो भाग

मेरोन्यूज २०८० भदौ ९ गते १६:४८

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय समिति सभापतिमा भाग खोजेको छ । सभापतिमा आफूहरूको पनि भाग मिलाउन राप्रपाले सत्तारुढ दलहरूसँग वार्ता गर्ने जिम्मेवारीसमेत तोकेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सत्तारुढ दलसँग छलफल गर्न नेता बुद्धिमान तामाङलाई जिम्मेवारी दिएको छ । दलको बैठकले आइतबार हुने समिति सभापति चयन प्रक्रियामा उम्मेदवारी दिने वा नदिनेबारे केही निर्णय नगरी सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेको धारणा बुझ्न नेता तामारूलाई जिम्मेवारी दिएर बैठक स्थगित गरेको छ ।

बैठकमा १० वटा विषयगत समितिमध्ये कम्तिमा एउटा मात्रै भए पनि समिति सभापति पाउनु पर्ने धारणा दलको बैठकमा सांसदहरूले राखेका थिए । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेले यसअघि नै संसदीय समिति सभापति भागबण्डा गरेकाले राप्रपाले ती दलसँग सभापति पाउनका लागि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि सांसद तामाङलाई जिम्मेवारी दिइएको हो ।

सत्तारुढ दल र एमालेको धारणा बुझेपछि मात्रै समितिको सभापति चयनको प्रक्रियामा उम्मेदवार खडा गर्ने वा नगर्नेबारे निर्णय गर्ने राप्रपाका एम सांसदले जानकारी दिए ।

बैठकपछि सांसद ध्रुवबहादुर प्रधानले राप्रपा भन्दा साना दलले पनि समिति सभापति पाएकाले पार्टीको पोजिसनको हिसाबले कम्तिमा पनि एउटा समितिको सभापति पाउनुपर्ने निक्र्यौल निकाल्दै सत्तारुढ र प्रतिपक्षी दलसँग छलफल गर्ने कुराकानी भएको जानकारी दिए ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच संसदीय समिति सभापतिको भागबण्डा हुँदा नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने, एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले एक–एक समितिको सभापति पाउने सहमति भइसकेको छ ।

त्यसमा राप्रपाले पनि भाग भाग खोजेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले भने सभापति निर्वाचन प्रक्रियामा उम्मेदवार खडा गर्ने निर्णय गरिसकेको छ । आइतबार दिउँसो १ बजे संसदीय समितिहरुमा सभापति चयनको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया