सोमबार, मंसिर २९, २०८२

बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा तीनको मृत्यु

मेरोन्यूज २०८० भदौ ११ गते १६:३७


नेपालगञ्ज । बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको जानकी गाउँपालिका–५ स्थित रामगाउँको नालामा डुबेको अवस्थामा आज जानकी गाउँपालिका–४ निवासी ३५ वर्षीय शिवकुमार बर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१८ को भित्री गल्लीमा तीव्रगतिमा रहेको मोटरसाइकल छाडा पशु चौपायासँग ठोक्किँदा बर्दिया राजापुरका ३६ वर्षीय प्रदीप थारुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डाँगीका अनुसार लु ८२ प ६४६८ नं को मोटरसाइकल अनियन्त्रित हुँदा छाडा चौपायासँग ठोक्किँएको थियो । थारुको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

साथै सर्पले टोकेर उपचारका क्रममा रहेकी जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

भदौ ५ गते राति ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो । पाँच दिनपछि उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया