सोमबार, फागुन ४, २०८२

समाजवादी गणतन्त्रका लागि बलियो शक्ति आवश्यक : प्रधानमन्त्री

मेरोन्यूज २०८० भदौ १२ गते १७:४८

बुटवल । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललेअबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको बताएका छन् । समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभामा दाहालले त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा बनाइएको बताए ।

Advertisement
nepal life insurencenepal life insurence

तत्कालीन माओवादीले २०६२ सालमा चुनबाङ बैठकमा गरेका निर्णयको स्मरण गराउँदै अध्यक्ष दाहालले त्यतिबेला आफूहरुले अघि सारेका कतिपय प्रश्नको हल भइनसकेको बताए । ‘हामीले त्यतिबेला भनेका थियौं, देशलाई संविधानसभाको चुनावमा जानबाट कसैले रोक्न सक्दैन । देश अब गणतन्त्रमा जान्छ र गणतान्त्रिक आन्दोलनको नेता कम्युनिष्ट पार्टी बन्छ’ उनले भने, ‘त्यतिबेलाको दस्तावेज पढ्नुभयो भने स्पष्ट लेखिएको छ तर त्यो गणतन्त्र हामीले भनेजस्तै श्रमिक जनताको हुन्छ वा दलाल नोकरशाहको गणतन्त्र हुन्छ, त्यो गणतन्त्र आउनेबित्तिकै फैसला हुने छैन ।’

अहिले गणतन्त्र जनताको बनाउने वा वुर्जुवाको भन्ने लडाइँ जारी रहेको उल्लेख गर्दै दाहालले भने, ‘यही फैसला गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो । प्रतिक्रियावादीहरुले सके गणतन्त्र नै समाप्त गर्ने र नसके यसलाई फाँसीवादी गणतन्त्रमा रुपान्तण गर्ने प्रयासमा छन् तर हामी भने अब जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न चाहन्छौं । अहिलेको लडाइँ यही नै हो । यो लडाइँमा हामीले विशाल शक्ति सञ्चय गर्नैपर्छ, त्यसकै लागि यो मोर्चाको आवश्यकता परेको हो ।’

अहिले प्रतिक्रियावादीहरुले जातीय, धार्मिक सद्भाव भड्काएर वा जे गर्न सकिन्छ गरेर भए पनि परिवर्तन उल्ट्याउन चाहेको उल्लेख गर्दै उनले यही प्रतिक्रान्तिकारी संकटका बिचबाट समाजवादी क्रान्तिलाई अघि बढाउनुपर्ने बताए। ‘अहिले प्रतिक्रियावादीहरुलाई गाउँका श्रमिक जनताका छोराछोरी आएर सरकार चलाएको पाच्य भएको छैन, उनीहरु कुनै पनि शर्तमा परिवर्तन उल्ट्याउन चाहन्छन्’, उनले भने, ‘संविधानको अंग बनिसकेको शान्ति सम्झौतालाई लत्यार मुद्दा चलाउँदै शान्ति प्रतिक्रिया बिथाल्न चाहन्छन् तर हामी भने निरन्तर अघि बढ्नुपर्छ ।’

समाजवादी मोर्चा सरकार, सदन र सडकबाट एकैसाथ अघि बढ्ने दाहालले बताए । प्रक्रियावादीहरु परिवर्तनविरुद्ध लागिरहे भने लाखौं जनतालाई समाजवादमा प्रशिक्षित गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

आफू यसपटक समाजवादी क्रान्तिकै लागि सरकारमा गएको बताउँदै उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत आफूले लडाइँ सुरु गरिसकेको बताए । क्रान्तिकारीहरु विभाजित हुँदा क्रान्तिको अपमान गर्नेहरु हावी हुन खोजेको उल्लेख दाबी दाहालको छ । क्रान्तिकारीहरुबीच वाद र विवादको चरण समाप्त भएर संवादको चरण सुरु भएकाले अब समाजवादी आन्दोलनका लागि क्रान्तिकारीहरु पुनः एक भएर अघि बढ्न थालेको बताए ।

प्रतिक्रिया