गाउँमै माध्यमिक शिक्षा, आठ कक्षापछि पढाइ छाड्ने बाध्यता हट्यो

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सुविधा नहुँदा माध्यमिक तह पढ्ने रहर अधुरै रहन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो । गाउँ छाडेर सहरमा गई पढ्न सक्ने अवस्था पनि थिएन् ।
तर यतिबेला भने उनको चाहना पूरा हुने भएको छ । महानगरपालिकाले यस वर्षदेखि आफूले गाउँको विद्यालयमा माध्यमिक तहसम्मको पढाइ शुरू गर्ने भएपछि उनको पढ्नका लागि सहर जानुपर्ने बाध्यता हटेको छ ।
माध्यमिक तहको पढाइ नहुँदा यहाँ पढ्ने अधिकांश विद्यार्थी ८ कक्षा पढेपछि विद्यालय छाड्न बाध्य थिए । सुस्मिताकी दिदी सृजना पनि कक्षा ८ पास गरेपछि विद्यालय छाडेर घर बस्न बाध्य भइन् । आफू पढ्दै आएको विद्यालयमा कक्षा ९ मा पढ्न पाउने मध्येकी एक भाग्यमानी किशोरी बनेको उनी बताउँछिन् । कक्षा ८ पढेपछि पढाइ नै सकिने गरेकोमा अब माध्यमिक तहको ढोका पनि खुलेको भन्दै उनी हर्षित छिन् । डुम्रेमा कक्षा ३ सम्म पढेपछि त्यसपछिका कक्षा पढ्न गाउँका सबै चौकीडाँडा आउने गरेका छन् ।
चौकीडाँडाबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो । त्यहाँको दुरी करिब १७ किलोमिटर छ । जहाँ घरबाट दैनिक जान र आउन सम्भव छैन । जसका कारण विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाइ छाड्ने गरेका थिए । अहिले भरतपुर महानगरपालिकाले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएपछि ८ पास गरेर पढाइ छाड्नुपर्ने बाध्यता हटेको हो ।
अहिले विद्यालयमा कक्षा ९ को पढाइ सञ्चालन भइरहेको प्रधानाध्यापक मुक्ति ढुङ्गानाले जानकारी दिए। कक्षा थप भएपछि ८ पास गरेर विद्यालय छाड्ने क्रम रोकिएको उनको भनाइ छ । ‘यहाँ पढेपछि कविलास र भरतपुरको बजार क्षेत्रमा नै जानुपर्छ । त्यहाँ जान यहाँका गरिब चेपाङ समुदायलाई सहज थिएन् । कक्षा ८ पास गरेपछि एकाधबाहेक सबैले विद्यालयको पढाइ छाड्थे,’ उनले भने, ‘अब १० कक्षासम्म भएपनि यहाँ पढ्न पाउने भएका छन् ।’ कक्षा थप भएपछि पढाइ छाडेर बसेका विद्यार्थी पनि भर्ना भएको उनले बताए । ‘यस वर्ष कक्षा ८ बाट १९ जनाले परीक्षा दिएका थिए भने कक्षा ९ कक्षामा २२ जना भर्ना भएका छन्,’ उनले भने, ‘अब बीचमै पढाइ छाड्ने क्रम रोकिन्छ ।’
चौकीडाँडा नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दूरीमा छ । यहाँका शिक्षकलाई महानगरपालिकाले दुर्गम भत्ता मासिक दुई हजार दिने गरेको महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बताए । ‘दुर्गममा पढाउन सकेसम्म जान नपरे हुँदो भन्ने शिक्षक धेरै हुनुहुन्छ,’ उनले भने, ‘शिक्षकलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरेका छौँ ।’ चौकीडाँडाको विद्यालयको भौतिक सुधार र शिक्षकलाई प्रोत्साहन गर्ने योजना महानगरपालिकाको रहेको बताए ।
यहाँ शिक्षकलाई बस्नका लागि आवासको व्यवस्था छैन । विद्यालयका शिक्षकका बस्न आवासको व्यवस्था गरिदिन शिक्षक जीवन अर्याल आग्रह गरे । ‘आमा समूहको भवनमा बसेका छौँ, पानी पर्दा घरभित्र नै आउँछ, भाँडा थापेर बस्नुपर्छ,’ उनले भने, ‘खानेपानीका लागि निकै दुःख छ ।’ चौकीडाँडामा लिफ्टमार्फत खानेपानी पुगे पनि विद्यालयमा नआएको उनले बताए ।
भरतपुर महानगरपालिकाले कक्षा थपेपछि भवन निर्माण गर्न लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् । ‘माध्यमिक तहको शिक्षा लिन वञ्चित भएको थाहा पाएपछि कक्षा १० सम्म पढाउने निर्णय गरेका छौँ,’ दाहालले भननिन्, ‘आगामी वर्षसम्म सक्ने गरी चार कोठे भवन बनाउँदै छौँ । शिक्षक दरबन्दी थप गरेका छौँ ।’ सो भवन निर्माण गर्न ४१ लाखमा ठेक्का दिइएको छ । आगामी दिनमा कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने योजना रहेको उनले बताइन् ।

















आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति पौडेलद्वारा भण्डारेश्वर महादेवको दर्शन
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया