शनिबार, माघ २४, २०८२

तिङ्करमा सशस्त्र प्रहरीको पोष्ट स्थापना

मेरोन्यूज २०८० भदौ २३ गते १८:३३

खलङ्गा (दार्चुला) । चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी० स्थापना गरिएको छ । व्यास गाउँपालिका–१ तिङ्करमा स्थापना गरिएको उक्त पोष्टको शुक्रबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् )

पोष्ट स्थापनाका लागि एआइजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हँुदै तिङ्कर पुगेको थियो । तिङ्करको छयालेकमा स्थापना गरिएको उक्त पोष्टमा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २० जनाको टोली सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए ।

विशेषगरी चीन सीमा नजिक उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण, लागूऔषध ओसारपसारलगायत गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रको निगरानीका लागि पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक विष्टले बताए । दार्चुलाको उत्तरी क्षेत्र व्यासमा सशस्त्र प्रहरीको एउटा गुल्मसहित चारओटा पोष्ट स्थापना भएका छन् ।

दार्चुला सदरमुकामबाट करीव १ सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं। ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करीव ११ किलोमिटरको दुरीमा रहेको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ८ ठाउँमा बिओपी स्थापना गरी सकेको छ । तिंकरमा स्थापना भएको बिओपी सहित चीनतर्फ ९ वटा र भारततर्फ २ सय ४३ गरी बिओपीको संख्या २ सय ५२ वटा पुगेको छ ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाको लागि हेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फ पु¥याईएको थियो । सो बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरु भारतको नाभिडाङ्ग र चीनको ताक्लाकोट बजार नजिकै पर्ने सशस्त्रका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया