निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने

काठमाडौँ, २३ माघ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ ।
मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले सो निर्णय गरेको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको थियो ।
समन्वय बैठकमा सीमास्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमाक्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुनसक्ने खतरा मूल्याङ्कन गर्ने, शरणार्थी र आप्रवासीहरूको गतिविधिउपर निगरानी राख्ने, विभिन्न तह बनाई नियमित चेकजाँच गर्न दुवै पक्षबीच सहमति भएको छ । बैठकमा आपराधिक तत्वहरूबाट हुनसक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमाक्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्नेलगायत विषयहरूमा समेत छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरे । समकक्षी भारतीय सशस्त्र सीमा बलका डिआइजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमाक्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय एसएसबीको तर्फबाट डिआइजी सरोजकुमार थाकुर, मन्जित सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिष कुमारको उपस्थिति थियो ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया