आइतबार, चैत २२, २०८२

स्क्रब टाइफसबाट चितवनमा महिलाको मृत्यु

मेरोन्यूज २०८० भदौ २५ गते १६:३२

चितवन । चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए ।

जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । छ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये २५ जना चितवनका छन् भने बाँकी अन्य जिल्लाका छन् ।

केसीले गत आवमा तीन हजार चार सय ८२ जनाको परीक्षण गर्दा पाँच सय २८ मा स्क्रब टाइफस सङ्क्रमण देखिएको जानकारी दिए । ‘यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मान्छेमा सर्दछ,’ उनले भने, ‘माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट मानिसमा लाग्ने गर्दछ ।’

यो जिवाणु झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरानमा बढी देखिने केसीको भनाइ थियो । उनका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन ।

प्रतिक्रिया