पाटन हाई स्कूलले मनायो शतवार्षिकी

ललितपुर । ललितपुरको पाटनढोकास्थित पाटन हाई स्कूलको शतवार्षिकी भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहमा १०० औँ वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रम कूल व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शैक्षिक क्षेत्रमा स्कूलले महत्त्वपूर्ण योगदान गरेको बताए ।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युकाता, जाइकाका प्रतिनिधि, कोरियन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस्तै स्कूलका पूर्वप्रधानाध्यापक, पूर्वव्यवस्थापन समितिका पदाधिकारी, पूर्वविद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा महानगर प्रमुख महर्जनले शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै भने, ‘विद्यालयको शतवार्षिकोत्सवको उद्घाटन गर्न पाउँदा गर्व लागेको छ । म यो विद्यालयका सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
उनले भूकम्पबाट क्षतविक्षत भएको विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने जापान सरकारलाई पनि धन्यवाद ज्ञापन गरे । महानगर प्रमुख महर्जन स्कूलले आगामी दिनमा शैक्षिक क्षेत्रमा पनि फड्को मार्ने विश्वास व्यक्त गरे ।
जापानी राजदूत युकाताले कार्यक्रममा उपस्थित भएर सम्मानित हुन पाउँदा खुसी लागेको बताए । जापान सरकारले नेपालका दुई सय ४० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरेको भन्दै त्यसमा एक पाटन हाइस्कूल पनि भएको उनले बताए । उनले स्कूलमा राम्रोसँग पढेर नेपालको प्रेरक शक्ति बन्न पनि विद्यार्थीहरूलाई आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र गौलीले विद्यालय पुनःनिर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता आदि पनि प्रस्तुत गरेका थिए ।
विद्यालय विसं. २०८१ भदौ २९ गते तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पहलमा स्थापना भएको हो । कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने विद्यालयमा हाल एक हजार १५६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र कानून संकायमा अध्यापन भइरहेको छ ।
–––

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया