शुक्रबार, फागुन १, २०८२

कांग्रेसको गुटगत राजनीति : विश्व-प्रदीप इतर समूहका सदस्य बन्नै लागेका हुन् ?

मेरोन्यूज २०८० असोज २ गते ७:४७

काठमाडौं । नेपाली कांग्रेस भित्र गुटगत राजनीति लामो समयदेखि भइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

२०७८ मंसिरमा भएको निर्वाचनमा पनि ४ नेता प्यानलसहित सभापतिको उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा, नेताहरू डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि प्यानलसहित सभापतिको प्रतिष्पर्धामा होमिएका थिए । पहिलो चरणमा विधानअनुरुप कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा सबैभन्दा बढी र दोस्रो मत ल्याएका देउवा र डा.कोइरालाबीच प्रतिष्पर्धा भयो । अरु दुई उम्मेदवार सिंह र निधिले देउवालाई सहयोग गरे । देउवाले बाजी मारे ।

देउवाले संस्थापन र नेता कोइरालाले अहिले इतरसमूह चलाइरहेका छन् ।

सिंहको प्यानलबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका विश्वप्रकाश शर्मा निर्वाचित बनेका थिए । पहिला अहिलेको संस्थापन अर्थात सभापति देउवा नेतृत्वको समूहमा रहेका शर्मा अर्को प्यानलमा गएर महामन्त्रीमा निर्वाचित भएपछि शर्मा कुनै गुटमा लागेका थिएनन् । अर्का युना नेता प्रदीप पौडेल महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका थिए ।

गत पुसमा भएको संसदीय दलको नेता निर्वाचनमा महामन्त्री शर्मा र पौडेलले सभापति देउवालाई नरोजेर महामन्त्री गगन थापालाई रोजेका थिए । यद्दपी थापा दलको नेताको रेसमा पराजित भए ।

त्यसपछि यी दुई नेता पार्टीभित्रको गुटगत राजनीतिमा कतै लागेका थिएनन् ।

आज इतर समूहको नेतृत्व गरेका नेता डा. कोइराला समूहको भेलामा दुवैलाई बोलाइएको छ । जान्छन् या जाँदैनन्, निश्चित भएको छैन ।

इतर समूहले भनेविश्व–प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको बताएको छ । १४ औं महाधिवेशन पछि विश्व–प्रदीप सहितको बैठक डा. शेखरले पहिलो पटक गर्न लागेका हुन् ।

मंगलबार शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने बैठक असोज ४ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा समूह कसरी अघि बढ्ने भन्ने तयारी भएको एक नेताले जानकारी दिए ।

केही दिनअघि विश्व–प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व–प्रदीप सहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो । केसी इतर समूहका नेता हुन् ।

नेता कोइरालाले विश्व प्रदीपसहित १४ औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाएका छन्।

कोइरालाले ०८२ मा हुने १५ औं महाधिवेशन लक्षित गरेर आफ्नो समूहलाई बलियो बनाउने प्रयास गरिरहेका छन्। त्यसै रणनीति अनुरुप दुई नेतालाई पनि आफ्नो पक्षमा पार्न भेलामा बोलाइएको निकट स्रोत बताउँछ ।

व्यवहारमा त महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेल इतर समूहसँग निकट थिए । तर, गुटको बैठकमा भने सहभागी हुने गरेका थिएनन् । आजको बैठकमा जान सकारात्मक रहेको दुवै नेताका निकटस्थहरूले बताएका छन् । उनीहरू आजको बैठकमा गए भने इतर गुटका सदस्य हुनेछन् ।

प्रतिक्रिया