शुक्रबार, फागुन १, २०८२

विवाद चर्किएपछि एकीकृत समाजवादीको अपानि फिर्ता, अर्को जारी हुने

मेरोन्यूज २०८० असोज ७ गते १६:०५

काठमाडौँ । पार्टीभित्र विवाद चर्किएपछि नेकपा एकीकृत समाजवादीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) फिर्ता भएको छ । अपानि जारी भएपछि पार्टीभित्र विवाद चुलिएपछि फिर्ता गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले केही दिनअघि जारी गरिएको अपानि कार्यान्वयन नगर्ने बताए । ‘अपानि जारी गर्दा हतारमा गरियो । अब त्यसलाई सच्याएर पठाउनुपर्ने भएकाले यसअघि जारी भएको अपानि कार्यान्वयन हुँदैन,’ उनले भने ।

उपमहासचिव खतिवडाले नयाँ अपानि सोमबार जारी गर्ने तयारी छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले गुटगत आधारमा नेताहरूको कार्यविभाजन गरेको, पक्षपातपूर्ण तरिकाले मनोनीत गरेको भन्दै अपानी जारी भएपछि सम्मानीत नेता झलनाथ खनाललगायतका नेताहरूले विरोध जनाएपछि अध्यक्ष नेपालले बाध्य भएर अपानि फिर्ता गरेका हुन् ।

पार्टी केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय भन्दै अपानि जारी भएको थियो । शनिबार बसेको सचिवालय बैठकले यसअघिको अपानि फिर्ता लिने निर्णय गरेको खतिवडाले बताए । अपानि जारी भएपछि केही नेताले जिम्मेवारी नलिने घोषणा गरे भने केहीले पार्टी नै छाडेको घोषणा गरेका थिए ।

नेकपा एसको ५–७ भदौमा केन्द्रीय कमिटी बैठक बसेको थियो । त्यसपछि पटक–पटक सचिवालय बैठक बसेको थियो ।

‘अस्ति जारी भएको अपानि फिर्ता भएको छ । अब परिमार्जन गरेर भोलिसम्म अर्को अपानी जारी हुनेछ । त्यही अपानिका आधारमा पार्टी गतिविधि र कार्य विभाजनलगायतका काम हुनेछन्, खतिवडाले भने ।

प्रतिक्रिया