बिहीबार, माघ २९, २०८२

नेपाल र चीनबीच यी विषयमा भयो सम्झौता

मेरोन्यूज २०८० असोज ८ गते १२:१४

काठमाडौं । नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजिटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरुको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता भएको छ ।

यस्तै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्यसमूह निर्माणसम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् । शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच सम्झौता पत्र पनि आदान प्रदान भएको छ ।

यस्तै पशुपक्षी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच कृषि, पशुपालन र मत्स्यपालन तथा औषधिजन्य वनस्पतिको चीन निर्यात सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सन् १९८१ मा दुई देशबीच भएको नेपाल चीन व्यापार तथा भुक्तानीसम्बन्धी सम्झौता पुनरावलोकन र परिवर्तनका लागि गृहकार्य गर्ने संयुक्त प्राविधिक कार्यसमूह स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस्तै नेपालबाट चिनियाँ औषधिका लागि औषधिजन्य वनस्पतिका सामग्रीहरू चीन निकासी गर्न वनस्पतिको औषधीय तत्वको आवश्यकतासम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । चीनको प्रेस तथा प्रकाशनसम्बन्धी राष्ट्रिय प्रशासन कार्यालय र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच क्लासिक प्रकाशन तथा अनुवादसम्बन्धी समझदारीपत्र भएको छ ।

साथै हिल्सा सिमिकोट सडक परियोजना निर्माणसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

प्रतिक्रिया