बिहीबार, माघ २९, २०८२

नगर प्रहरी धनगढीका इन्चार्ज मल्ल जागिरबाट बर्खास्त

मेरोन्यूज २०८० असोज १० गते १६:०३

धनगढी । नगर प्रहरी धनगढीका इन्चार्ज बर्खास्तमा परेका छन् । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख (सई) कृष्ण मल्ललाई जागिरबाट बर्खास्त गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामलाल श्रेष्ठका अनुसार मल्ललाई सोमवार बर्खास्त गरिएको हो । नगर प्रमुख गोपाल हमालले गरेको स्थलगत छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएपछि बर्खास्तमा परेका थिए ।

उनले कसैलाइ पनि जानकारी नदिई सम्पर्क बिहीन भएपछि बर्खास्त गरिएको उपमहानगरपालिकाले जनाएको छ । उनलाई यसअघि पनि पटक–पटक स्पष्टिकरण सोधिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । सोमबार परेको अविरल वर्षाले धनगढी जलमग्न हुन पुगेको थियो ।

सो समयमा पनि उद्धारमा खटिनुपर्ने नगर प्रहरी प्रमुख मल्ल नगर प्रहरीको ब्यारेकमा समेत फेला नपरे पछि सञ्चार सेटको सम्पर्कमा समेत नरहेको पाइएपछि उपमहानगरले उनलाई बर्खास्त गरेको हो । उपमहानगरभित्र हाल दुई दर्जन बढी नगरप्रहरी कार्यरत रहेका छन् ।

नगरप्रहरीले नगरवासीको सेवामा गर्नुपर्ने दायित्वबाट भाग्ने काम भएपछि मल्ललाई बर्खास्त गरिएको हो । उनी ड्युटी नै छोडेर राति घर भाग्ने गरेको समेत पाइएको छ । कञ्चनपुरको गुलरिया घर भएका मल्ललाई पटकपटक नगर प्रहरीको आचरणअनुसार काम गर्न सचेत गराउने काम समेत उपमहानगरले गर्दै आएको थियो । यति गर्दा पनि जिम्मेवारीबाट पन्छिने काम भएपछि बर्खास्त गर्नु परेको नगरप्रमुख हमालले बताए ।

नगरवासीको हितमा काम गर्न सहज होस भनेर सुविधासम्पन्न नगर प्रहरीको ब्यारेक बनाइएको छ । उचित बासस्थानसहित आवश्यक सवारीसाधन समेत उपलब्ध गराइएको अवस्थामा मल्लले नगरवासीको उद्धारमा खटिनुपर्ने दायित्वबाट भागेर घर पुगेपछि बर्खास्त गर्नुबाहेकको विकल्प नभएको उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया