लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

गोरखा । लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगिता कात्तिक १ गते हुने भएको छ । यस वर्ष दौडमा सहभागी हुन चाहाने खेलाडीका लागि अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ ।
लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहाने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिए ।
अगामी कात्तिक १ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले यही असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने उनले बताए । अभियानले यस पटक एघारौँ संस्करणको लिगलिगे दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने धावकलाई एक वर्षका लागि लिगलिगकोटको साङ्केतिक राजा घोषणा गर्ने प्रचलन रहँदै आएको छ ।
गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर समापन हुने गर्दछ ।
प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई नगद रु एक लाखसहित श्रीपेच पगरी, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको अध्यक्ष थापामगरले बताए । मेन इलिट (खुला) प्रतियोगितातर्फ सहभागी खेलाडीले निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी पार गर्नुपर्नेछ ।
प्रतियोगितामा दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु २५ हजार, चौथो हुनेलाई रु १४ हजार र पाँचौँ हुने विजेतालाई रु १० हजार पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए । तीन समूह चरणमा हुने प्रतियोगितामा स्थानीयवासी र विद्यार्थीले पनि छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।
स्थानीय खुलातर्फ भाग लिएर विजेता हुन खेलाडीमध्ये प्रथम हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार तथा तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । विद्यार्थीतर्फ प्रतियोगितामा सहभागी हुन पाउने १८ वर्ष भन्दा मुनिका छात्रले भने पालुङटार नगरपालिका–३ को मैवलबाट कालिका मन्दिरसम्मको तीन किलोमिटर दौड पूरा गर्नुपर्ने उनले बताए ।
नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ । विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।
















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
संवैधानिक परिषद्को बैठक सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया