बिहीबार, माघ २९, २०८२

९ घण्टापछि प्रकाशित भयो कर्णालीमा एमालेका उम्मेदवारको अन्तिम नामावली

मेरोन्यूज २०८० असोज १३ गते १७:१९

सुर्खेत। नेकपा एमालेको कर्णाली प्रदेशमा नयाँ नेतृत्व चुन्नका लागि हुने निर्वाचनमा उम्मेदवारको अन्तिम नामावली बल्ल प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको अन्तिम नामावली साँझ ५ बजे प्रकाशित गरिएको हो ।

दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि नामावली प्रकाशनमा ढिलाइ भएपछि अहिलेसम्म मतदान सुरु‌ हुन सकेको छैन ।

अन्तिम नामवली प्रकाशित भएसँगै अब मतदान प्रक्रिया अगाडि बढ्ने देखिएको छ। नामावली अनुसार अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए । कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । अधिवेशनबाट पाँच पदाधीकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

प्रतिक्रिया