बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने

दमौली (तनहुँ) । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो ।
दमौलीबाट सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार उक्त खण्ड ‘आक्सफाल्ट प्रविधि’बाट सडक कालोपत्र गरिनेछ ।
पूर्वाधार विकास कार्यालयले मैनाचुली÷सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौताअनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।
गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार उक्त खण्डको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । सो अवसरमा मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले हालसम्मको कामका बारेमा जानकारी लिएको थियो ।
सो मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंमार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्ने जनाइएको छ ।
गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर यस वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन ।
उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।
उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिने जनाइएको छ ।
दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आवतजावत गरे पनि अन्य ठूला सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया