आइतबार, पुष ६, २०८२

चाडपर्वका लागि आजदेखि सस्तो पसल सञ्चालन हुँदै, कहाँ-कहाँ खुले पसल ?

मेरोन्यूज २०८० असोज २१ गते ७:२२

काठमाडौं। सरकारले आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दै छ ।

काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल राखेर पसल सञ्चालन गर्ने जनाएको हो ।

यस्तै राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने जनाइएको छ ।

सरकारले सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

यस्तै साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन एक करोड रुपैयाँ छुट्याइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिने जनाइएको छ ।

यसैगरी दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिने जनाएको छ ।

प्रतिक्रिया