बिहीबार, वैशाख १०, २०८३

दशैंअघि नारायणघाट-बुटवल र पोखरा-मुग्लिन सडकखण्ड मर्मत गरिने

मेरोन्यूज २०८० असोज २३ गते १८:०३

काठमाडौं । सडक विभागले दशैँअघि स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गर्ने भएको छ ।

Advertisement
NiccNicc

मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको चाडपर्व लक्षित यातायात व्यवस्थापन गर्ने सम्बन्धमा बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले दुई व्यस्त सडक यात्रा सहज हुनेगरि मर्मत गर्ने निर्णय गरेको हो ।

विभागले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक मर्मत गर्ने निर्णय गरेको हो । सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत कार्य गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका शाखा अधिकृत माधवराज पाण्डेले जानकारी दिए ।

बैठकले खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ठूला सवारी साधनलाई नारायणगढ–काठमाडौं सडकमा २६ असोजबाटै रोक्ने निर्णय गरेको छ । यात्रुबाहक सवारी साधनको सहजताका लागि मालबाहक ठूला सवारी साधन रोक्ने निर्णय भएको हो । यो निर्णय ८ कात्तिकसम्म लागु हुने बैठकले निर्णय गरेको छ ।

२६ असोजदेखि रुट परमिट खुला गर्ने निर्णय पनि बैठकले गरेको छ । अब सवारी साधनहरु पूर्णिमाको दिनसम्मै रुट परमिटविना चल्न सक्ने छन् ।

प्रतिक्रिया