गुवेखोलामा पक्की पुल निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर आज उद्घाटन गरिएको हो ।
पुलको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले पुल निर्माणसँगै यस भेगका नागरिकको दैनिकी परिवर्तन हुने विश्वास व्यक्त गरे । यसअघि पुलको अभावमा आवागमनमा सास्ती हुने गरेकामा अब सहज भएको भन्दै कृषि उपज तथा अन्य वस्तु बिक्री वितरणका लागि सहयोग पुग्ने उनले बताए ।
“प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको छ । पुल, सडक, खानेपानी लगायतका क्षेत्रमा सरकारको सहयोग सदैव रहन्छ”, आलेले भने, “प्रदेशलाई समृद्ध बनाउँदै नगरवासीलाई आधारभूत सेवा र सुविधा उपलब्ध गराउने अभियानमा सरकार लागिरहेको छ ।”
रू दुई करोड २६ लाखको लागतमा पुल निर्माण सम्पन्न भएको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उनका अनुसार विसं २०७७ पुस २८ गते उक्त पुलको शिलान्यास गरिएको थियो । पुल २० मिटर लामो र ६ मिटर चौडा रहेको छ ।
साबिकको थप्रेक गाविसलाई वडाको केन्द्रदेखि नगरको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचमा ल्याउने उद्देश्यले पुल निर्माण गरिएको नगर प्रमुख पण्डितले बताए । “पुल निर्माण, सडक कालोपत्रलगायत पूर्वाधार विकासले मात्र समृद्धि आउँदैन । समृद्धिका लागि कृषिमा विकास तथा उत्पादनसँग जोडिनपर्छ”, उनले भने । पुल बनेपछि थप्रेकवासीले उत्पादन गरेको कृषि उपज बजारमा पु¥याउन सहज हुने नगर प्रमुख पण्डितको भनाइ थियो ।
गुवेखोलामा पुल नहुँदा थप्रेकवासीलाई बर्खाको समयमा निकै समस्या हुने गरेको थियो । अब उक्त समस्या हटेको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले बताए । उनका अनुसार पुलकै अभावमा पाँचरसात मिनेटमा आवतजावत गर्न सकिने यस ठाउँमा तनहुँको कोत्रे हुँदै गाडीबाट एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ ।
तनहुँको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई विसं २०१८ मा सहिद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको थियो । तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको थियो । पछिल्लो समयमा दमौलीबाट थप्रेक हुँदै कोत्रेसम्म यो मार्ग जोडिने भएकाले यसलाई दमौलीबाट पोखराका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग गरिँदै आइएको छ ।
















बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ सकियाे
Two die in motorcycle accident in Dang
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
प्रतिक्रिया