शुक्रबार, चैत २०, २०८२

स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यको सामुहिक राजीनामा

मेरोन्यूज २०८० असोज ३० गते १९:२८

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामुहिक राजीनामा दिएका छन्। बोर्ड सदस्य डा सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामुहिक राजीनामा दिएका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको विरोधमा उनीहरूले सामुहिक राजीनामा दिएका हुन् ।

स्वास्थ्य बीमा बोर्ड नौ महिनादेखि अध्यक्षविहीन छ। बोर्डमा ९ महिनादेखि अध्यक्ष नियुक्ति नगर्नु र मन्त्रायलकै महाशाखा प्रमुखलाई निमित्त कार्यकारीको जिम्मेवारी दिनुले स्वार्थ बाझिने भएकाले राजीनामा दिनुपरेको उनीहरुले बताएका छन् ।

राजीनामा दिएका बोर्ड सदस्य थापाले स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखा प्रमुख समेत रहेका उपाध्यायलाई बोर्डको कार्यकारी निर्देशक समेतमा नियुक्ति गरिनु ‘कन्फिलिक्ट अफ इन्ट्रेष्ट’ जोडिएको बताए। उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा प्रवाह गर्ने निकाय रहेको र बोर्ड गुणस्तरीय सेवा खरिद गरेर जनतालाई वितरण गर्ने निकाय रहको हुँदा बोर्डको प्रमुख कार्यकारी र मन्त्रालयको महाशाखा प्रमुख एउटै व्यक्ति हुँदा स्वास्थ्य बीमा कार्यान्वयनमा बाधा पुग्ने भएका कारण बाध्य भएर राजीनामा दिनुपरेको बताए।

थापाले भने, ‘स्वास्थ्य सेवाका क्रममा हुने भड्किलो खर्च कम गर्न र गुणस्तरीय सेवामा जनताको सर्वसुलभ पुहुँच स्थापित गर्न स्थापित स्वास्थ्य बीमा बोर्डको सदस्यको रूपमा रही नीति, कार्यविधि र कार्यक्रमहरु तयार पारी लागू गर्ने कार्यमा क्षमताले भ्याएसम्म योगदान गरियो। बदलिँदो परिवेश र हाम्रो व्यवहारिक कारणले स्वास्थ्यमन्त्री समक्ष यो सामुहिक राजीनामा दिएका हौँ।’

सरकारले गत असोज २४ गते बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गरेको थियो। त्यसपछि कार्यकारी निर्देशक नियुक्त गरिएको छैन ।

प्रतिक्रिया