आइतबार, पुष ६, २०८२

उपत्यकाका नाका-नाकामा गाँउ फर्कनेको भिड

मेरोन्यूज २०८० कार्तिक ३ गते ११:०७

काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट गाउँ घर फर्कनेको उपत्यकाका नाका नाकामा भिड बढेको छ । बुधबार र बिहीबारको तुलनामा शुक्रबार घर फर्कनेको भिड झन् धेरै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कर्लंकी, बालाजु, बल्खु, कोटेश्वरलगायतका नाकामा बिहानैदेखि यात्रुको घुइँचो छ । आज शुक्रबार र भोलि शनिबारसँगै फूलपाती पनि परेकाले सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत बन्द हुने भएकाले धेरैजसो आज र भोलि घर फर्कँदै छन् ।

पछिल्ला दुई तीनयता उपत्यकाबाट दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रु बाहिरिएका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नागढुङ्गा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ । हिजो र अस्ति दुई लाख हाराहारीले काठमाडौँ छाडेको ट्राफिक प्रहरीले जनाएको छ ।

घर जानेहरूको सङ्ख्या बढ्न थालेपछि उपत्यकाबाट बाहिरिने नाका तथा सडक खण्डमा यात्रु र गाडीको चाप बढेको छ ।

दशैँका लागि गाउँ घर जाने यात्रुले मुस्किलले टिकट पाएका छन् भने सडकको अवस्थाका कारण यात्रा पनि कष्टकर बनेको छ । गाडीको चापका कारण जाम हुने समस्या एकातिर छ भने अर्कातिर खाल्डाखुल्डी र बिग्रिएका सडकका कारण यात्रा निकै कष्टकर बनेको यात्रुको गुनासो छ ।

प्रतिक्रिया