चाडबाडको मेसोमा म्याग्दीका गाउँगाउँमा मेला र खेलकुद

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्र मेला र खेलकुदमय भएका छन् । दसैँ, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् ।
युवा क्लबले खेलकुदसँगै स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघर यतिबेला मेलामय भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
“आठ वटा वडा रहेको हाम्रो रघुगङ्गा गाउँपालिकाको बादुक, भगवती र कोटगाउँमा बडादसैँ को अवसरमा रु एक लाखभन्दा बढी पुरस्कार राशिको खेलकुद प्रतियोगिता सञ्चालन भएको छ”, उनले भने, “मेलापर्वले ग्रामीण क्षेत्रमा खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र गीत तथा नृत्य कला प्रस्तुतिको अवसर मिलेको छ ।”
रघुगङ्गा गाउँपालिका–१ को बादुक भूमे युवा क्लबले आयोजना गरेको बास्केटबल, पुरुष भलिबल, प्रौढ भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रतियोगिताका साथै खेलमैदानको शुक्रबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर), गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्वप्रदेश सांसद विनोद केसी र गाउँपालिका अध्यक्ष भण्डारीले उद्घाटन गरे।
सोही अवसरमा गण्डकी प्रदेश सरकारको रु दश लाख अनुदान र स्थानीयको श्रमदानमा पुनःनिर्माण भएको बादुक खेलमैदान, सिङ्गापुर प्रहरीमा कार्यरत बादुकका मिथुन शेरपुञ्जाको नेतृत्वमा रु चार लाख २६ हजार चन्दा जुटाएर स्थापना गरिएको बास्केटबलको फाइवर बोर्डको पनि उद्घाटन गरिएको थियो ।
बादुकको बास्केटबल र पुरुष भलिबल प्रतियोगिताका विजेतालाई रु एक लाख १५ हजार पुरस्कार राखिएको छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको वडा नम्बर २ भगवतीमा बडादसैँको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि रु एक लाखभन्दा बढी छ । मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा कात्तिक ६ गते दसैँ मेला सकिएको थियो ।
मालिका–२ रुममा भलिबल र वडा नम्बर ५ को देवीस्थान र वडा नम्बर ६ दरवाङमा फुटबल प्रतियोगिता आयोजना भएको छ । देवीस्थानको फुटबल प्रतियोगिताका विजेतालाई पनि रु एक लाख राशिको पुरस्कार राखिएको छ ।
सहर बजारबाट दश जोड दुई, क्याम्पस तहमा पढ्ने युवायुवती, विदेशबाट आएका प्रवासी र नेपालकै विभिन्न स्थानमा विविध पेसा र जागिरमा रहेका चाडपर्वको बिदामा खेलकुद प्रतियोगितामा रमाउने गरेका बादुक भूमे युवा क्लबका लोकेन्द्र गर्बुजाले बताए। मेलामा स्थानीय मौलिक गीत र नृत्य प्रस्तुत गर्ने चलन छ । मौलिक सोरठी, मारुनी, पुख्र्यौली गीतमा नृत्य गर्ने गर्दछन् ।
बादुकको खेलकुद प्रतियोगिता र खेलमैदान उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा र प्रदेश सांसद भण्डारीले मेला महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताए । ग्रामीण क्षेत्रमा आयोजना भएका खेलकुद प्रतियोगिताबाट छानिएका खेलाडीलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर मिलाउने उनले बताए ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्टान अरुणा शाही, महिला भलिबल खेलाडी कमला पुन, पवित्रा विसीलगायत म्याग्दीका धेरै खेलाडी प्रदेश, विभिन्न क्लब र राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । उनीहरु पनि यसैगरी ग्रामीण क्षेत्रमा आयोजना हुने गरेका खेलकुद प्रतियोगिताबाट नै छानिएर माथि पुगेका हुन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया