मंगलबार, माघ २७, २०८२

अवैध लागूऔषधसहित पक्राउ

मेरोन्यूज २०८० मंसिर ८ गते २१:३३


काठमाडौँ । काठमाडौँ, चन्द्रागिरी नगरपालिका–२ स्थित चेकप्वाइन्टबाट अवैध लागूऔषध निषेधित रासायिनिक पदार्थ पोल्यान्ड जस्तो देखिने तीन सय ग्रामसहित बारा निजगढ नगरपालिका–५ घर भएका २२ वर्षीय आशीष दाहाललाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र.०६–००१ ख ०००१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिरहा, कर्जन्हा नगरपालिका–३ बन्दीपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब एक हजार दुई सय ग्राम ७० मिलिग्राम र नगद रु १२ हजार छ सय ५० सहित सोही नगरपालिका–२ बस्ने ३० वर्षीय विश्वमित्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बन्दीपुर र लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१५ हड्डी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २५ ग्राम दुई सय मिलिग्रामसहित भारत घर भएका १९ वर्षीय चाँद शालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट संयुक्त रूपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, दुहबी नगरपालिका–५ डाँगा चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७० ग्राम पाँच मिलिग्रामसहित भारत घर भएका २७ वर्षीय सोनुकुमार चौधरी समेत दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले बीआर ३८ एई ६०७५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रमममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

रूपन्देही, बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट अवैध लागूऔषध ब्राउन सुगर तीन ग्राम ६० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने देवदह नगरपालिका–३ घर भएका २४ वर्षीय सोमबहादुर सुनार समेत दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले सुनारको डेरा तलासी गर्दा लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

बागलुङ, काठेखोला गाउँपालिका–५ काउलेबाट अवैध लागूऔषध गाँजा एक केजी एक सय ४३ ग्रामसहित दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम श्रीस र उनका भाइ २८ वर्षीय तिलक श्रीस रहेका छन् । उनीहरूले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी बिहुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको हो ।
यी सबै घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया