शुक्रबार, वैशाख २५, २०८३

संघमा ८ देखि १० मन्त्रालय भए पुग्छ, मन्त्रालय घटाउनुपर्छ : गगन थापा

मेरोन्यूज २०८० मंसिर १६ गते १८:५५

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय सरकारमा अहिले रहेको मन्त्रालयको संख्या नै घटाउनु पर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको आज बुटवलमा सम्बोधन गदैं महामन्त्री थापाले नेपालमा संघीय सरकारमा ८ देखि १० वटा सम्म मन्त्रालय भए पुग्ने बताएका थिए ।
महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको बताए । प्रदेशदेखि संघसम्म धेरै मन्त्रालय हुँदा जनस्तरमा प्रदेशप्रति नकारात्मक टिप्पणी भएको भन्दै उनले कम खर्चमा पनि चलाउन सकिने बताए ।

Advertisement
NiccNicc

विगतमा १४ अञ्चल र ५ विकास क्षेत्र हुँदा हुने खर्चमै ७ प्रदेश र ७५३ स्थानीय सरकार चलाउन सकिने कांग्रेस महामन्त्री थापाको भनाइ छ । ‘लोभले गर्दा तलदेखि माथिसम्म सबैलाई मन्त्री बन्नुपरेको छ’, महामन्त्री थापाले भने, ‘मन्त्रालय घटाउनुपर्छ, संघमा ८ देखि १० मन्त्रालय भए पुग्छ ।’

उनले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउनु पर्ने पनि बताए । उनले त्यस्तो कानुन निर्माणको प्रस्ताव पनि गरेको छ ।

उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने बताए ।

आफ्नो क्षेत्रमा टुक्रे वजेट पार्न मरिहत्ते गर्ने प्रवृत्तिले संघका मन्त्रीहरु र वडा अध्यक्षबीच फरक छुट्याउन कठिन हुन थालेको थापाको टिप्पणी छ ।

महामन्त्री थापाले चुनाव अघिको गठबन्धनले लोकतन्त्रलाई विकृत बनाएको बताउंदै आउदो चुनावमा कांग्रेस एक्लै चुनाव लड्नु्पर्ने धारणा राखे । समानुपातिक निर्वाचन प्रणालीले पनि विकृति ल्याएको भन्दै उनले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

निर्वाचनसम्बन्धी नयाँ विधेयक संसदमा ल्याउने तयारी भइरहेको भन्दै उनले निर्वाचन प्रणाली बदल्न त्यहाँ काम गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया