मंगलबार, वैशाख १५, २०८३

नेपाली सेनाद्वारा सुर्खेतमा बृहत् स्वास्थ्य शिविर सञ्चालन

मेरोन्यूज २०८० पुष ७ गते १७:०३

सुर्खेत । सुर्खेतको पश्चिम लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज चौकुने गाउँपालिका–२ लगाम सुर्खेतमा रहेको कालीबहादुर गणको आयोजना तथा ज्योति फाउन्डेसन र आँखा अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

Advertisement
NiccNicc

शिविरबाट चार सय पाँच जनाले सेवा लिएका कालीबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको उनले बताए ।

सिलवालका अनुसार चौकुने गाउँपालिका–१, २ र ३ का माथिल्लो र तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीवन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली र गहुँखाडा गाउँका चार सय पाँच जना नागरिकले सेवा लिएका छन् । “नेपाली सेनाले गर्ने सामाजिक सेवाअन्तर्गत हामीले स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ । पालिकाका जनप्रतिनिधिसँगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएका गाउँ रोजेर सेवा दिएका छौँ”, उनले भने ।

यसले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने गणपति प्रमुख सिलवालको भनाइ थियो । उनका अनुसार शिविरमा कर्णाली प्रदेश अस्पतालका जनरल सर्जन डा उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा रोजी यादव, डा दर्पण नेपाली, नेपाली सेनाका उपसेनानी डा मोनिमा महर्जन, सुर्खेत आँखा अस्पतालका ओपिडी इञ्चार्ज अरुण गुप्ताले सेवा दिएका थिए ।

स्वास्थ्य सेवा लिन गाडी खोजेर टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर सञ्चालन भएपछि उपचारमा सहज भएको स्थानीय सुमित्रा थापाले बताए । “भनेको बेला गाडी नै पाइँदैन । जटिल रोग लागिहालेमा तत्कालै अस्पताल जान सकिने अवस्था पनि छैन”, उनले भने, “दुर्गमको समस्या बुझेर शिविर सञ्चालन भएपछि हामीले स्वास्थ्य जाँच गर्न पाएका छौँ ।”

गाउँपालिकामा नेपाली सेनाले पहिलो पटक शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । सडक तथा यातायातको सुविधा कम भएका यहाँका गाउँले गुणस्तरीय स्वास्थ्य सेवा लिन सदरमुकामसम्म जान पनि सास्ती हुने गरेको उनको भनाइ थियो । “सेनाले गाउँमा आएर शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई राहत मिलेको छ”, उनले भने ।

गणपति सिलवालका अनुसार शिविरमा स्त्री तथा प्रसुति रोग, आँखासम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको छ । शिविरमा जाँच गराउन आएकाहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया