शनिबार, वैशाख २६, २०८३

राजतन्त्र फर्काउँछौं भन्नेको भाष्यलाई हाम्रो संकल्प यात्राले अर्थहीन बनाइदियाे : ओली

मेरोन्यूज २०८० पुष ८ गते १४:३८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको मध्यपहाडी संकल्प यात्राले जनतामा उत्साह ल्याएको बताएका छन् ।

Advertisement
NiccNicc

आइतबार पार्टी कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनका क्रममा बोल्दै अध्यक्ष ओलीले आफुहरुले जनताका निराशा चिर्दै गलत भाष्यहरूलाई पराजित गरेको दाबी गरे। उनले एमालेको संकल्प यात्राले देशमा पुन: राजतन्त्र फर्काउँछौँ भन्दै हिँड्नेहरूका लागि पनि यो असान्दर्भिक मुद्दा हो भन्ने पुष्टि गरेको बताए।

उनले भने, ‘सरकारका असफलताका कारणले पैदा भएका निराशाजन्य कुराहरूले मानिसहरू हतोत्साहित भएका छन्। त्यस स्थितिको फाइदा लिएर अवाञ्छित खालका व्यवहारलाई अगाडि बढाउने प्रयास थियो। त्यो प्रयासलाई यो यात्राले अर्थहीन बनाइदियो। प्रतिगमनलाई फर्काउने प्रयास गर्छन्। त्यस्तो विषयलाई अर्थहीन र असान्दर्भिक बनाइदिएको छ।’

त्यस्तै, उनले आफूहरूको संकल्प यात्राले राजनीतिलाई फेरि हिंसा र उत्तेजनातिर फर्काउने प्रयासलाई निस्तेज पारेको समेत बताए।

साथै उनले यात्राका क्रममा अहिले पनि केही मान्छेहरू राणा शासन र पञ्चायत नै ठिक थियो भन्ने भेटिने गरेको भन्दै उक्त कुरा स्वीकार्य हुन नसक्ने बताए।

‘राणा शासन नै राम्रो थियो र पञ्चायत नै राम्रो थियो भन्ने पनि भेटिन्छन्। त्यो ग्राह्य, स्वीकार्य हुन सक्दैनौँ। हामी गलत भाष्यलाई चिर्न र नयाँ यथार्थ भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने, ‘हामी सफल भएका छौँ। एउटा राजनीतिक रूपमा रहेको अस्थिरता, अन्यौल, निराशा जस्ता कुराहरूले जनतामा आइरहेको नैराश्य भावलाई यस यात्राले चिर्ने काम गरेको छ।’

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डात्तोलन गरी सुरु भएको एमालेको संकल्प यात्रा १८ दिनसम्म चलेर पाँचथरको चिवाभञ्‍याङमा पुगेर टुंगिएको थियो। अभियानका क्रममा एमालेले विभिन्न जिल्ला र शहरहरूमा सभा सम्मेलन गरेको थियो।

प्रतिक्रिया